रमपम झापा गोल्ड कपको तयारी पुरा, ४० हजार विद्यार्थीले पनि निशुल्क अवलोकन गर्ने
Posted on: Feb 27, 2018


रविन भट्टराई÷बिर्तामोड,फागुन १५,
फागुन १९ गते देखि सुरु हुने तेस्रो रमपम झापा गोल्डकपको तयारी पुरा भएको आयोजकले बताएको छ । 

१९ देखि २८ गते सम्म हुने गोल्ड कपको तयारीको विषयमा जानकारी दिन डोमालाल राजवंशी रंगशालामा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले प्रतियोगिताको ९० प्रतिशत तयारी पुरा भएको र बांकी १० प्रतिशत तयारी चार दिन भित्र सकेर प्रतियोगिता सुरु हुने बताए । 

प्रतियोगिता सञ्चालन गर्न आवस्यक भौतीक संरचना निर्माण, प्रायोजकको व्यवस्थापन सबै सम्पन्न भएको र खेल मैदानलाई व्यवस्थित गर्ने केहि प्रतिशत मात्र काम बाँकि रहेकाले सो पनि केहि दिनमानै सम्पन्न हुने गिरीको भनाई छ । 

खेलको उद्धघाटन प्रदेश नंबर १ का मुख्य मन्त्रि सेरधन राईले गर्नुहुने आयोजकले बताएको छ । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष दर्शक, आयोजक, प्रायोजक, सञ्चारकर्मि सबैलाई खेल अवलोकनका लागि उचित प्यारापिट निर्माण गरेको पनि आयोजकले बताएको छ । खेल सम्पन्न गर्न करिब एक करोड लाग्ने अनुमान गरीएको छ । दर्शक बस्नका लागि ४ हजार क्षमता भएको बाँसको प्यारापिट निर्मार्ण सकिएको छ ।

यस वर्षको खेलमा दश टिमले सहभागिता जनाउने र खेलको टाईसिट बुधबार प्रकाशन गर्ने अध्यक्ष गिरीले बताए । यस वर्ष रमपम झापा ११ फुटबल क्लब झापा, थ्री स्टार क्लब काठमाडौ, मनाङ मस्याङेदी क्लब काठमाडौ, त्रिभुवन आर्मी क्लब काठमाडौ, नेपाल पुलिस क्लब काठमाडौ, सशस्त्र प्रहरी बल काठमाडौ, साहारा क्लब पोखरा, रुपन्देहि ११ फुटबल क्लब रुपन्देही, सुदुर पश्चिम ११ फुटबल क्लब कैलारी र सिक्कम युनाईटेड फुटबल क्लब सिक्मि भारतले खेलमा सहभागिता जनाउने पत्रकार संममेलनमा बितरीत प्रेश विज्ञप्तिमा उल्लेख गरीएको छ । 

यस वर्ष प्रतियोगिताको बिजेताले १२ लाख ५१ हजार र उपबिजेताले ६ लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रत्येक दिन म्यान अफ द म्याचको लागि २५ हजार पुरस्कार रासि तोकिएको अध्यक्ष गिरीले बताए । यो वर्ष प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ थान मोटरसाईकल, रमपम झापा ११ का एक खेलाडिलाई लाईफटाईम एचिभमेण्ट अवार्ड स्वरुप १ थान मोटरसाईकल र दर्शकका लागि गेट टिकटमा उपहार कुपनको व्यवस्था गरी प्रत्येक दिन चिठ्ठा मार्फत एउटा टेलिभिजन सेट समेत उपहार दिने आयोजकले बताएको छ । 

यस पटकको खेललाई व्यवस्थित बनाउन प्रतियोगिताको समुद्धघाटन तथा फाईनल खेलमा एलईडि टेलिभिजनको व्यवस्था गरीएको बताईएको छ । फुटबल खेललाई सिकाईको एक भागका रुपमा विकास गर्दै लैजान विद्यालयका स्तरका विद्यार्थीलाई सामुहिक रुपमा खेल अवलोकनको अवसर समेत प्रदान गरीएको अध्यक्ष गिरीले बताए । 

यस क्रममा झापाका ४० वटा विद्यालयका १० हजार विद्यार्थीले खेल अवलोकन गर्ने उनको भनाई छ । खेल समापनमा झापाका दुई अग्रज फुटबल खेलाडीलाई नगद पुरस्कार सहित सम्मान पत्र र ट्रफि सहित सम्मन गर्ने आयोजकले तयारी गरेको छ । 

यसैबिच झापामा फुटवल खेलको विकास र खेलाडीको भविष्य सुरक्षित गर्न झापा ११ क्लवका सबै खेलाडीलाई अनुबन्ध गर्न लागिएको तेस्रो झापा गोल्डकप प्रतियोगिता २०७४ का अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । 

यस अघि झापा ११ का दुई खेलाडी योगेश गुरुङ र देवेन्द्र तामाङलाई क्लवले दुई वर्षका लागि अनुबन्ध गरेको थियो । १९ गते सम्ममा ९ जना खेलाडी अनुबन्ध भएको घोषणा गर्ने अध्यक्ष गिरीले बताए । 

सन् २०१४ को सेप्टेम्वरमा काठमाडौंमा भएको एन्फा कप नक आउट फुटवल प्रतियोगितामा संकटा फुटवल क्लवलाई हराएर मोफसलबाट झापा ११ पहिलो पटक च्याम्पियन बनेको थियो । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले छोटो समयमा झापा ११ लाई ए डिभिजन क्लबको मान्यता दिएसँगै झापा ११ ले आफ्नो शाख जोगाउन सबै खेलाडीलाई अनुबन्ध गर्न लागेको हो । 


Comments